| इसपका नीतिकथा
भाग १
भाग २
भाग ३
भाग ४
भाग ५
भाग ६
इसप र उनका नीति कथा
इसप युनान (ग्रिस) देशमा जन्मेका थिए । उनको जन्म झण्डै
छब्बिस सय वर्षअघि इसापूर्व ६२० मा भएको थियो । त्यस
बेला ग्रिसमा दासप्रथा थियो । इसप पनि दास थिए । उनले
पालैपालो दुई जना मालिकको घरमा काम गरेका थिए । उनको
साहित्यमा रुचि र विद्वत्ता देखेर दोस्रो मालिकले इसपलाई
दासबाट मुक्ति दिएका थिए ।
त्यसबेला ग्रिसमा गणतन्त्र थियो । नागरिकहरू सार्वजनिक
विषयमा भाग लिन स्वतन्त्र थिए । इसपले पनि यस्तै सार्वजनिक
चासोका सभाहरूको उपयोग गरेर दासको जीवनबाट सम्मानित
जीवन पाउन सफल भएका थिए । उनले छिमेकी देशहरू घुमे ।
उनले त्यसबेलाका दार्शनिकहरू र विद्या र कलाको सम्मान
गर्ने व्यक्तिहरूसँग भेटने सभा र वादविवादहरूमा भागलिने
अवसर पाए र सम्मानित भए ।
त्यस बेला ग्रिस धेरै गणतन्त्रहरूमा बाँडिएको थियो
। इसप प्रायः सबै गणतन्त्रहरूमा घुमिरहन्थे । उनलाई
उच्चस्तरको राजकीय कामको जिम्मा पनि दिइन्थ्यो । यस्तो
काम अहिलेको राजदूतको जस्तो हुन्थ्यो । एक पटक उनलाई
डेल्फीमा गएर त्यहाँका नागरिकहरूलाई पैसा बाँडने जिम्मा
दिइयो । यो कामले उनलाई मृत्युको मुखमा पुर्यायो ।
डेल्फीका मानिसहरूको लोभीपन देखेर इसपलाई यति रिस उठ्यो
कि उसले आफूले ल्याएको असर्फी नबाँडिकन त्यसको मालिकलाई
नै फर्काइदिए । यो घटनाले डेल्फीबासीहरू उग्र भए । उनीहरूले
इसपमाथि निर्दयी भएको आरोप लगाए । उनको राजदूतको हैसियतको
बाबजुद पनि डेल्फी बासीहरूले उनलाई सामान्य नागरिक सरह
मृत्युदण्ड दिए ।
यो जघन्य अपराधको डेल्फीबासीहरूले धेरै पटक र ठूलो
मोल चुकाउनु पर्यो । इसपको हत्या गर्नेहरूले भोग्नु
परेको दुःखबाट अपराधीले सजाय पाएरै छोड्छ भन्ने भनाइ
प्रचलित भयो ।
मृत्युपछि पनि इसपको सम्मान भयो । महान मूर्तिकार लिसिपसले
उनको मूर्ति बनाए र एथेन्समा त्यसको स्थापना गरियो ।
इसपका बारेमा धेरै खालका किंवदन्तीहरू प्रचलित छन्
। कोही उनलाई दास होइन विद्वान दार्शनिक मान्छन् । उनका
कथाहरू पढदा उनी पशुपन्छीको भाषा बुझ्नसक्थे भन्ने लाग्छ
। तर मानिसलाई शिक्षा दिनका लागि पशुहरूलाई पात्र बनाएर
उनले रचेका कथाहरू साह्रै घतलाग्दा छन् । रचनाकालदेखि
यी कथाहरूले संसारभरिका मानिसलाई मनोरंजन र ज्ञान दिइरहेका
छन्
इसपका नीति कथा भनेर विश्वमा सैयौँ कथाहरू प्रचलित
छन् । कैयन कथाहरू एकअर्कासँग मिल्छन् । विभिन्न देश
र समुदायमा एउटै कथाका पनि बेग्लाबेग्दै रूप र उपदेश
पाइन्छ । कसैकसैले विभिन्न देशका लोक कथा पनि इसपको
नामसँग जोडिँदै उनकै कथाको रूपमा प्रचलित भयो भनेका
छन् । कतिपय साहित्यकारहरूले इसपका नीति कथाको आधारमा
आफ्नै परिवेशमा ढालेर कथाहरू रचेका छन् ।
मूल पृष्ठमा जाउँ |