| बौद्ध जातककथा
घमण्डी बँदेल
एउटा
सिंह हिमालयको गुफामा बस्थ्यो । गुफा नजिकैको वनमा बँदेलको
बथान पनि बस्थ्यो । एक दिन सिंह जानवर मारेर पेट भरिएपछि नजिकैको
पोखरीमा पानी खान गयो । पोखरीको नजिकै एउटा मोटो बँदेल चरिरहेको
उसले देख्यो । पेट भरिएको हुनाले सिंहलाई त्यो दिन सिकार खेल्ने
मन थिएन । भोलि त्यो बँदेललाई मार्ने बिचार गर्दै ऊ त्यहाँबाट
बँदेलले थाहा नपाउने गरी चाल मारेर बनतिर गयो ।
तर बँदेलले सिंहलाई लुसुक्क बनतिर लागेको देखेको थियो
। सिंह आफूसँग डराएर भागेको भन्ने उसलाई लाग्यो । त्यसैले
उसले सिंहलाई आफूसँग लड्ने हाँक दियो । सिंहले ऊसँग
लड्न इन्कार गर्दै एक सातापछि लड्ने कुरा गर्यो । सिंहको
कुरा सुनेर बँदेल खुशी भयो ।
त्यसपछि बँदेलले आफ्नो बथानका अरु बँदेलहरूलाई सिंह
आफूसँग डराएर भाग्न खोजेको र एक सातापछि मात्रै लड्न
मानेको कुरा दंग पर्दै सुनाउन थाल्यो । उसको कुरा सुनेर
उसको बथानका बँदेलहरू दुःखी भए । उनीहरूलाई सिंह कति
बलियो हुन्छ भन्ने थाहा थियो । त्यसपछि सिंहले अरु बँदेललाई
पनि बाकी राख्ने छैन भन्ने उनीहरूलाई डर थियो । त्यसैले
उनीहरूले त्यो घमण्डी बँदेललाई भने, "बँदेल र सिंहको
तुलना कहिल्यै पनि हुनसक्तैन । सिंहले तिमीलाई दया गरेर
हो वा भोक नलागेर हो एक साताको म्याद दिएको रहेछ । अब
तिमीलाई मर्न मन छैन भने हामीले भनेझैँ गर ।"
उनीहरूले त्यो बँदेललाई हरेक दिन सकेसम्म गन्हाउने
ढल र हिलोमा लडिबुडी खेलेर आफ्नो जिउमा हिलोको पत्रैपत्र
थुपार्ने सल्लाह दिए । उनीहरूको सल्लाहबमोजिम घमण्डी
बँदेलले पनि दिनदिनै हिलोमा गएर जिउमा हिलो जम्मा गर्ने
र घाममा सुकाउने गर्न थाल्यो । यसरी छ दिनसम्म हिलोमा
लडिबुडी खेल्दै सुकाउँदै गर्दा उसको जिउमा बाक्लो हिलो
जम्मा भयो ।
सिंहसँग लडाइ गर्ने दिन बँदेलले आफ्नो जिउ पानीले भिजायो
। यसले गर्दा उसको जिउको हिलो सहनै नसकिनै गरी गन्हाउन
थाल्यो । ऊसँग लड्न भनेर आएको सिंहले त्यो गन्ध सहनै
सकेन । सिंहलाई उसको जिउमा हमला गर्ने त के कुरा उसको
नजिक जान पनि गाह्रो भयो । उसले भन्यो, "ए, फोहोरी
गन्हाउने बँदेल ! तेरो छालाबाट आएको दुर्गन्धले मेरो
नाकै फुट्लाजस्तो भयो । तंसँग लड्नुभन्दा त बरु हार
स्वीकार गर्छु ।"
त्यस दिनदेखि तयो बँदेल झन घमण्डी भयो । तर उसको बथानका
अरु बँदेलहरले भने सिंहले कुनै दिन आएर हमला गर्ला भन्ने
डरले त्यो ठाउँ छाडेर अन्तै बसाइ सरे ।
माथि
मूल पृष्ठमा जाउँ |