| बौद्ध जातककथा
संगतगुनको फल
एक जना किसानको छोराले पहिलो पटक खेतमा गएर हलो
जोत्न थालेको थियो । हलो जोत्नुभन्दा पहिले ऊ नजिकैको
पोखरीमा गयो र नुहाउन थाल्यो । पोखरीको पिँधमा उसले
सुनौला रंगको ठूलो गंगटा देख्यो । उसलाई गंगटा निक्कै
मन पर्यो । उसले त्यो गंगटालाई लुगामा बेबर खेतमा लग्यो
। दिनभरि उसले गंगटालाई आफूसँगै खेतमा राख्यो र साँझ
परेपछि पोखरीमा लगेर छाडिदियो ।
भोलि पल्ट पनि उसले त्यो गंगटालाई लुगामा बेरेर ल्यायो
र दिनभरि आफूसँग राखेपछि साँझ घर फर्कने बेलामा पोखरीमा
लगेर छाडिदियो । यसरी दिनदिनै गंगटासँग खेल्न थालेपछि
ती दुईको बीचमा मित्रता बढदैगयो ।
तन्नेरी किसानले काम गर्ने खेतको छेउमा एउटा अग्लो
रुख थियो । रुखमा एक जोडी कौवा र कौवी गुँड बनाएर बसेका
थिए । कौवीले दिनभरि युवा किसानलाई हेरिरहन्थी । हेर्दाहेर्दा
उसलाई किसानको आँखा निक्कै मनपर्यो । उसलाई किसानको
आँखा खान पाए हुन्थ्यो भन्ने लाग्यो ।
एक दिन कौवीले कौवासँग किसानको आँखा झिकेर ल्याउन अनुरोध
गरी । तर कौवाले त्यो काम आफूले गर्न नसक्ने बतायो ।
कौवीले भनी, "तिमी एक्लैले यो काम गर्न सक्तैनौ
भन्ने मलाई थाहा छ । तिमीले नजिकैको दुलोमा बस्ने कालो
सर्पको मदत लिएर यो काम गर्न सक्छौ । उसले त्यो किसानलाई
टोकेर मारेपछि तिमीले उसको आँखा झिकेर ल्याउनू ।"
कौवीको कुरा मानेर कौवाले कालो सर्पसँग मित्रता गाँस्न
थाल्यो । तिनीहरू गाढा मित्र भए । एक दिन सर्पले कौवासँग
"मिज्जु, तपाईँलाई मेरो मदत चाहिएको छ कि ?"
भनेर सोध्यो । कौवाले सर्पसँग खेतमा काम गर्ने तन्नेरी
किसानलाई टोक्न अनुरोध गर्यो ।
भोलि पल्ट पनि त्यो किसान सँधैझैँ पोखरीमा गयो र सुनौलो
गंगटालाई आफूसँग ल्याएर खेतको छेउमा राख्यो । त्यही
बेला घाँसमा लुकेको सर्पले अचानक किसानको खुट्टामा टोक्यो
। किसान भुइँमा ढल्यो । सर्प दुलोभित्र लुक्यो । त्यही
बेला कौवा रुखबाट ओर्ल्यो र किसानको निधारमा बसेर आँखामा
थुङ्न खोज्यो । त्यो देखेर गंगटा किसानको लुगाबाट बाहिर
निस्क्यो र कौवाको खुट्टा च्याप्प समात्यो । कौवा आत्तिएर
गुहार माग्न थाल्यो । कौवाले मदत मागेको सुनेर कालो
सर्प फणा उठाउँदै फेरि टोक्ने दाउमा दुलोबाट बाहिर आयो
। गंगटाले अर्को सनासोले सर्पलाई पनि समात्यो ।
गंगटोले किन आफूलाई समात्यो भन्ने कुरा सर्पले बुझेपछि
उसले गंगटासँग दुबैलाई छाडिदिन अनुरोध गर्दै भन्यो,
"हामी दुबैलाई छाडिदियौ भने किसानको जिउमा फैलिएको
मेरो बिष सबै मैले खिचेर लिन्छु ।" गंगटाले सर्पको
कुरा मान्यो । तर उसले दुबैलाई एकै चोटि छोड्न मानेन
। उसले पहिले सर्पलाई छाड्यो र किसानको जिउमा फैलिएको
विष उतार्न लगायो । बिष निख्रेर किसान होसमा नआएसम्म
गंगटाले कौवालाई धरौटीको रुपमा राख्यो ।
सर्पले किसानको जिउबाट बिष निकालेर किसान होसमा आएपछि
गंगटाले कौवा र सर्प दुबैलाई आफ्नो कसिलो सनासोले च्यापेर
मार्यो । त्यो देखेर कौवी त्यहाँबाट भागेर अन्तै बसाइ
सरी ।
माथि
मूल पृष्ठमा जाउँ |