सबैभन्दा सस्तो ल्यापटप

24 July, 19:42, by admin

भारतका मानव संसाधन विकास मन्त्रीले संसारकै सबैभन्दा सस्तो ल्यापटप कम्प्युटर सार्वजनिक गरेका छन् । यसको मोल ३५ डलर अर्थात् २६ सय नपाली रुपैयाँजति पर्छ ।

यो ल्यापटपमा टचस्क्रिन, वेबसाइट हर्ने ब्राउजर, पिडिएफ रिडर, भिडियो कन्फ्रेन्सिङ सुविधा छन् । साथै आवश्यकताअनुसार नयाँनयाँ सुविधा थप्न सकिने व्यवस्था पनि छ । यो लिनक्स अपरेटिङ सिस्टममा चल्छ । सन् २०११ सम्म यासको मोल घटाएर २० डलर र आखिरमा १० डलर अर्थात् ७५० रुपैयाँ पुर्याउने लक्ष छ ।

यो सस्तो ल्यापटपको निर्माण इन्डियन इन्स्टिच्युट अफ टेक्नोलजी र इन्डियन इन्स्टिच्युट अफ साइन्सका अनुसन्धान टोलीहरुले गरेका हुन् । भारत सरकारले विद्यालय शिक्षामा वाषिर्क बजेटको ३ प्रतिशत खर्च गर्ने गरेको छ । भारतको जनसंख्या एक अरब बीस करोड छ र त्यहाँको साक्षरता ६४ प्रतिशत पुगेको छ ।

स्रोतः प्रथम बुक्स, जुलाई २४, २०१०

साझा पुरस्कार वितरण

24 July, 19:35, by admin

काठमाडौं, २९ असार
चार वर्षअघिदेखि रोकिएको साझा पुरस्कार, लोकसाहित्य पुरस्कार, बालसाहित्य पुरस्कार र गरिमा सम्मान पुरस्कार विभिन्न विधामा कलम चलाइरहेका स्रष्टाहरूलाई भानु जयन्तीको अवसरमा असार २९ गते वितरण गरियो । संस्कृतिविद् सत्यमोहन जोशी तथा कृषि तथा सहकारी मन्त्री मृगेन्द्रसिंह यादवले सम्मानित स्रष्टाहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रकाशनले ‘हरि अधिकारीका कविता’ कृतिका लागि कवि हरि अधिकारीलाई २०६३, ‘साहित्य र समाज’ कृतिका लागि ऋषिराज बराललाई २०६४, ‘प्रेतकल्प’ उपन्यासका लागि नारायण ढकाललाई २०६५ र ‘संक्रमणको साहित्य र समकालीनता’ शीर्षक कृतिका लागि पुरुषोत्तम सुवेदीलाई २०६६ सालको साझा पुरस्कार प्रदान गरेको थियो ।
त्यसैगरी लोकसाहित्य पुरस्कारतर्फ ‘नेपालमा प्रचलित नृत्य र नृत्यनाटिकाहरू’ शीर्षक ग्रन्थका लागि डा. मोतीलाल पराजुलीलाई २०६३, ‘लिम्बुवानका लोककथा’ शीर्षक ग्रन्थका लागि धनहाङ सुब्बालाई २०६५, ‘डोटी प्रदेशको लोकवाङ्मय कोश’ शीर्षक ग्रन्थका लागि  वासुदेव भट्ट ‘भाइसाब’लाई २०६६ को पुरस्कार प्रदान गर्यो ।
चार वर्षअघिदेखि नै रोकिएको साझा बालसाहित्य पुरस्कार ‘आमाचरी’ पुस्तकका लागि कवि अनिल पौडेल २०६३, ‘वनको दमकल’ पुस्तकका लागि विनय कसजू २०६४, ‘भुइँचालोबारे हजुरआमाको कथा’ पुस्तकका लागि शान्तदास मानन्धर २०६५ र ‘बगियाक गाछ’ शीर्षक पुस्तकका लागि देवेन्द्र मिश्रलाई २०६६ को पुरस्कार प्रदान गरियो।
त्यसैगरी, गरिमा सम्मान पुरस्कार पनि मंगलबार नै प्रदान गरिएको थियो । ‘गजल’ शीर्षक गजलका लागि गजलकार ललिजन रावल र ‘शब्दको भ्वाङ’ शीर्षक व्यंग्य निबन्धका लागि रुद्र खरेल २०६३, ‘टपरीमा राक्षस’ कविताका लागि कवि श्यामल र ‘ऐंजेरु’ कथाका लागि राजेन्द्र विमल २०६४, ‘साझा हाम्रो एकता’ कविताका लागि रेखा सुवेदी र ‘बेतुक’ कथाका लागि राजेन्द्र पराजुली २०६५ तथा ‘खोइ गर्भ खोज’ र ‘स्वपीडा’ शीर्षक दुई कविताका लागि कणाद महर्षि र ‘भारतका उत्तरपूर्वीय राज्यमा नेपाली आख्यानको विकासक्रम’ समीक्षालेखका लागि अविनाश श्रेष्ठलाई २०६६ को गरिमा सम्मान पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व र कृतित्वका बारेमा झलक सुवदी र रमेशप्रसाद भट्टराईले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साझा प्रकाशनकी अध्यक्ष तथा महाप्रबन्धक ममता झाले चार वर्षेखि साझा पुरस्कारलगायत अन्य पुरस्कारहरू वितरण गर्न केही कठिनाइ भएको र आउँदा दिनमा यसलाई निरन्तरता दिने र पुरस्कारको रकम बढाउने भन्नुभयो । प्रमुखअतिथि सत्यमोहन जोशीले साहित्यकारहरूको संस्था साझा प्रकाशनलाई सरकारले उचित ध्यान नदिएकोमा रोष प्रकट गर्दै यसलाई बलियो बनाउन सबैसँग अनुरोध गर्नुभयो ।

विजयराज आचार्य पुरस्कृत

24 July, 19:31, by admin

काठमाडौं, ३१ असार । बालसाहित्य लेखक एवं पत्रकार विजयराज आचार्यलाई तन्नेरी त्रैमासिक पत्रिकाले ‘पुष्कर गौतम बालसाहित्य पुरस्कार-२०६६’ प्रदान गरेको छ ।
उहाँको साझा प्रकाशनबाट प्रकाशित ‘बाटुली’ बालकथाकृतिका लागि सो पुरस्कार प्रदान गरिएको हो । लेखक विजयराज आचार्य नेपाली बालसाहित्यको प्रवर्धनका निम्ति सक्रिय हुनुहुन्छ । उहाँका मौलिक, अनुवाद र सम्पादन गरी ३६ वटा कृतिहरु प्रकाशित भएका छन् । उहाँले ‘हाम्रो बालबगैचा’ मासिक बालपत्रिकाका सम्पादन र प्रकाशन गरिरनु भएको छ  र विवेक सिर्जनशील प्रकाशनका कार्यकारी अध्यक्ष हुनुहुन्छ ।

घरमै बसेर पुस्तक भाडामा

24 July, 19:26, by admin

भारतको कोलकोता शहरमा भाडामा पुस्तक लिएर पढन चाहनेहरुका लागि अनलाइनबाट पुस्तक अर्डर लिएर घरघरमा पुर्याउने सेवा सुरु भएको छ ।

जेल्फ नामक किताब भाडामा दिने संस्थाले आफ्नो वेबसाइट http://self.in मा किताबहरुको सचित्र सूची राखेको छ । पाठकले आफूले रोजेको पुस्तक अनलाइनबाट अर्डर गर्छ र संस्थाले घरमै पुस्तक ल्याइदिन्छ । पुस्तक पढिसकेपछि संस्थाले नै पहिलेको पुस्तक फर्काउँछ र नयाँ पुस्तक ल्याइदिन्छ । यसको लागि मासिक तथा वाषिर्क शुल्क तिर्नु पर्छ । कतिवटा किताब कतिकति दिनमा पढ्ने भन्ने आधारमा शुल्क तोकिएको छ । एक महिनाको भारतीय रुपैयाँ पाँचसय, छ महिनाको १८०० वा वर्षको ३३०० तिर्यो भने जति पनि किताब पढ्न पाइन्छ । हेनुस्ः  http://xelf.in/membership-plan.php

कथा वाचन समाज गठन

24 July, 19:23, by admin

काठमाडौं, जेठ, २०६७

नेपाली बालसाहित्य सर्जकहरूले नेपाली बालकथा वाचन परम्पराको प्रवर्ध्दन गर्ने उद्देश्यले बालकथाकार ध्रुव घिमिरेको अध्यक्षतामा कथा वाचक समाज गठन गरेको छ । समाजको उपाध्यक्ष कृष्ण शाह ‘यात्री’, महासचिव कृष्णदीप सिग्देल, सचिव यशु श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ र सदस्यहरू मेनुका राई, सौरभ किरण श्रेष्ठ, जनार्दन बराल र भीष्म के.सी. हुनुहुन्छ ।

उँटमा चढेर केटाकेटीलाई किताब

16 June, 19:46, by admin

लेखक उँटमा पुस्तक राखेर गाउँतिर जाँदै

हिमाली क्षेत्रमा मोटरबाटो नपुगेको ठाउँमा चौँरी गाईले भारी बोकेजस्तै चिनसँग जोडिएको विशाल देश मंगोलियामा उँटले भारी बोक्छ । त्यहाँका टाढाटाढाका र दुर्गम गाउँमा बस्ने केटाकेटीको जीवनमा खुशी थप्न दासदोङदोग नाम गरेका एक जना लेखकले उँटको पिठ्युँमा किताब बोकाएर गाउँका बालबालिकालाई बाँड्ने गरेका छन् । गाउँका बालबालिकाले छुट्टीका बेलामा राम्रा र रमाइला पुस्तक पढ्न पाउन भनेर उनले सन् २००२ देखि घुम्ती पुस्तकालय परियोजना चलाएका हुन् ।

उनले गाउँमा पुस्तक पुर्याउन उँटका साथै घोडा, गधा, गाई, बाह्रसिंगे जरायोजस्ता जानवरको पनि उपयोग गर्ने गरेका छन् । उनले यस्तो काम थालेको १८ वर्षभयो । यो काममा उनलाई त्यहाँका लेखक, कलाकार, शिक्षक, विद्यार्थी, सामाजिक कार्यकर्ता र उनका परिवारका सदस्यहरूले पनि सघाइरहेका छन् । लेखक दासदोङदाग आफैले पनि १०८ शीर्षकका बालपुस्तक लेखिसकेका छन् । उनले अरु भाषामा छापिएका बालपुस्तक मंगोलियन भाषामा उल्था पनि गर्छन् ।

स्रोत/साभारः प्रथम बुक्स, जुन ९

किताब दान गरौँ

16 June, 19:10, by admin

तपाईँहरूलाई थाहैछ नेपालका दुर्गम गाउँहरूमा पाठ्यपुस्तक बेलामा पुग्दैनन् । स्कुलमा पढ्नु पर्ने किताब समयमा नपुग्ने ठाउँमा पाठ्यक्रम बाहिरका कथा, गीत, उपन्यासका पुस्तकहरू कसरी पुग्लान् ?

पुस्तक नपुग्ने गाउँका बालबालिकाहरूमा पुस्तक पढ्ने बानी बस्दैन । पुस्तक पढ्ने चाहना र इच्छा पनि मर्छ । पुस्तकबाट बंचित हुनु भनेको हाम्रो भविष्यका आधारहरूलाई अयोग्य र समाजको बोझ बनाउनु सरह हो ।

हामी पुस्तक पढ्ने बानी बसेका र पुस्तक पढिसकेका सचेत नागरिकहरूले दुर्गम गाउँमा बस्ने बालबालिकालाई पुस्तक पठाएर गुन लाउन सक्छौँ । यो गुन भनेको आफू र आफ्नै देशको लागि लगाउने गुन हो ।

हालै स्याटेलाइट नामक संस्थाले नेपालका केही जिल्लाका गाउँका बालबालिकाका लागि पुस्तक संकलन गरेर पठाउने काम गर्न लागेको छ ।

दुर्गम स्थानमा बस्ने बालबालिका मात्रै होइनन् शिक्षक शिक्षिकाहरू पनि पुस्तक पढ्नबाट बंचित छन् । यसैले बालबालिकालाई रमाइलो लाग्ने र ज्ञान दिने पुस्तकका साथै शिक्षक शिक्षिकाका लागि पनि उपयोगी पुस्तक तपाईँले स्याटेलाइटमार्फ् दान दिन सक्नु हुन्छ ।

काठमाडौँमा पुस्तक दिन चाहनुहुनेहरूले मोबाइल फोन नं. ९८५१०३२२१३ मा र पोखरामा फोन नं. ९८४६०५९३८८ मा सम्पर्क राख्न सक्नु हुन्छ । इमेल ठेगाना होः satelite1953@gmail.com

पाल्पामा बालसाहित्य अन्तरक्रिया र भिडियो प्रदर्शन

04 June, 19:02, by admin

पाल्पा, तानसेन जेठ १० गते ।

धवल पुस्तकालय भवन

पाल्पा तानसेन धवल पुस्तकालयमा पाल्पाका बालसाहित्य पाठक सर्जक तथा विद्यार्थीहरूसँग बालसाहित्य सर्जक विनय कसजूले अन्तरक्रिया गर्नु भयो । सो अवसरमा उहाँले नेपाली बालसाहित्यको अवस्था, गएको फागुनमा कास्की जिल्लाको घान्द्रुकमा भएको नेपाल बालसाहित्य समाजको सम्मेलनले पारित गरेको घोषणापत्रको बारेमा बताउनु भयो । साथै अहिलेको विश्वमा कस्तो बालसाहित्यको सिर्जना भइरहेछ भन्ने नमुनाको रूपमा केही छोटा चलचित्र भिडियो पनि देखाउनु भयो । आधुनिक मिडियाले बालबालिकालाई आफ्नो हितको लागि प्रयोग गर्ने सम्भावना बढेको विषयमा पनि सचेत गराउनु भयो ।

यस अवसरमा बालसाहित्य सर्जक कर्णबहादुर बानियाले पाल्पामा बालसाहित्यको विकास प्रारम्भिक अवस्थामा रहेको र यसका लागि साहित्यकार र साहित्य लेखनमा रुचि राख्ने विद्यार्थीहरूले मिलेर ठोस काम गर्नु पर्ने विचार व्यक्त गर्नु भयो । धवल पुस्तकालयले आयोजना गरेको सो कार्यक्रमको अध्यक्षता पुस्तकालयकाअध्यक्ष युवराज पौड्यालले गर्नु भएको थियो । कार्यक्रम संचालक पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले गर्नु भएको थियो ।

बालसाहित्य र बालकथा भिडियो प्रदर्शन

पाँच कक्षामा पढ्ने असीम रेग्मीको आफ्नै ब्लग

25 May, 21:04, by admin

दाङ घोराहीको दीपशिखा माध्यमकि विद्यालयमा कक्षा पाँचमा पढ्ने असीम रेग्मीले आफ्नै ब्लग सुरु गरेका छन् । बालबालिकालाई सिर्जनशील बन्न सघाउनु, स्वदेश र विश्वका बालसाहत्यिसँग परिचित गराउनु, आधुनिक आमसंचारका माध्यमहरूका बारेमा सजग बनाउनु, अभिभावकहरूलाई बालबालिकाको हक र हितप्रति सचेत बनाउनु यो ब्लगको उद्देश्य रहेको छ । हाल यो ब्लगमा बालबालिकाबारे एउटा लेख र बालकथा र बालकविता राखिएका छन् । ब्लगको ठेगाना यस्तो छः www.khushikosansar.plogspot.com

अन्तरराष्ट्रिय बालपुस्तक दिवस सम्पन्न

अन्तरराष्ट्रिय बालपुस्तक दिवस कार्यक्रम

काठमाडौँ चैत २२ गते तदनुसार अप्रैल २, २०१० ।

डेनमार्कमा सन् १८०५ अप्रैल २ मा जन्मेका विश्वप्रसिद्ध बालकथाकार हान्स क्रिस्चियन एन्डरसनको जन्म दिनलाई सन् १९६७ देखि अन्तरराष्ट्रिय बालपुस्तक दिवसको रूपमा मनाउने गरिएको छ । दिवस मनाउनुको उद्देश्य पुस्तकप्रति सबैको रुचि जगाउनु र बालपुस्तकको प्रवर्द्धनमा ध्यानाकर्षण गर्नु रहेको छ । यो उद्देश्य पूरा गर्न विश्वका विभिन्न देशमा विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गरिन्छ ।

नेपालमा हान्स क्रिस्चियन एन्डरसनको २०० औँ जन्मदिनको उपलक्ष्यमा २००५ को अप्रैल २ का दिन पहिलो पटक नेपाल बालसाहित्य समाजले अन्तरराष्ट्रिय बालपुस्तक दिवस मनाएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको समारोहमा बालसाहित्यका बारेमा चर्चा गर्नुका साथै डा. चूडामणि बन्धुले नेपाली भाषामा अनुवाद गर्नु भएको हान्स क्रिस्चियन एन्डरसनका कथाहरुको पुस्तक तथा बालसाहित्य सर्जक विनयकुमार कसजूले लेख्नु भएको हान्स क्रिस्चियन एन्डरसनको जीवनी, डेनमार्कको परिचय तथा  यात्राको संस्मरण साथै उनका कथाहरुको नेपाली अनुवादसहितको पुस्तक प्रकाशित भएको थियो ।

बालसाहित्य सर्जक शान्तदास मानन्धर हान्स क्रिस्चियन एण्डरसनको बारेमा बोल्दै

अन्तरराष्ट्रिय बालपुस्तक दिवस मनाउने काम खास गरी बालबालिकाहरूका लागि पुस्तकको अन्तरराष्ट्रिय समिति (इन्टरनेसनल बोर्ड अफ बुक्स फर यंगर पिपुल, संक्षेपमा (आबीबीवाई) ले गर्छ । विभिन्न देशका बालसाहित्यसँग सम्बन्धित संस्थाहरू यस बोर्डका सदस्य छन् । एक वर्ष एउटा देशले अन्तरराष्ट्रिय बालपुस्तक वर्षको प्रायोजन गर्ने अवसर पाउँछ । प्रायोजन गर्ने देशको संस्थाले पुस्तक दिवसको मूल भावना (थिम) तय गर्छ र त्यसैको आधारमा त्यो देशको ख्यातिप्राप्त लेखकलाई सन्देश लेख्न र प्रसिद्ध चित्रकारलाई पोस्टर लेख्न लगाउँछ । यस वर्षको पुस्तक दिवसको प्रायोजक स्पेन हो । यो वर्षको मुख्य विचार होः “पुस्तकले पर्खिरहेछ, खोज ।” यसैसँग मिल्ने पोस्टर पनि तयार पारिएको छ ।

नेपालमा यस पटक नेपाल बालसाहित्य समाज र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रज्ञा प्रतिष्ठानको पुस्तकालय सभाकक्षमा अन्तरराष्टिय बालपुस्तक दिवसको उपलक्ष्यमा प्रवचन कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम भयो । समाजका अध्यक्ष रामबाबु सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकार श्यामप्रसाद शर्मा मूल पाहुना हुनुहुन्थ्यो । मुख्य वक्ताहरु कथाकार शान्तदाश मानन्धर र विनयकुमार कसजूले क्रमशः अन्तर्राष्ट्रिय बालपुस्तक दिवस र विश्वप्रसिद्ध बालकथाकार हान्स क्रिस्चियन एन्डरसनको बारेमा र नेपाली बालसाहित्यको अवस्था, समस्या र चुनौतिहरुको बारेमा बोल्नु भएको थियो ।

बालसाहित्य सर्जक विनय कसजू नेपाली बालसाहित्यको अवस्था र हाँकबारे बोल्दै

यसै कार्यक्रममा नेपाल बालसाहित्य समाजले हरेक वर्ष दिँदै आएको सर्वोत्कृष्ट बालपुस्तक लेखन पुरस्कार २०६४ को पुस्कार साहित्यकार कृष्णप्रसाद पराजुलीलाई र २०६५ को पुरस्कार गीता सापकोटालाई प्रदान गरिएको थियो । यस्तै, सर्वोत्कृष्ट बालपुस्तक चित्रांकनकर्ता पुरस्कार दीपक गौतम र संगीता बस्नेतलाई प्रदान गरिएको थियो । साथै नेबासासले आयोजना गरेको कथा लेखन तथा चित्रांकन कार्यशालाका सहभागीहरुलाई प्रमाणपत्र बाँडिएको थियो । बालसाहित्यकार रक्षा थापा र सन्देश पाण्डेले कविता पढेर सुनाउनु भएको थियो ।