| |
|
हान्स क्रि एन्डरसन
मानिसले के आविष्कार गर्नसक्छ
?
- हान्स क्रिस्चियन एन्डरसन
एक जना युवक कवि बन्ने उद्देश्यले अध्ययन गर्दै
थियो । इस्टरको चाडसम्ममा कवि बनिसक्ने उसको इच्छा थियो
। त्यसपछि ऊ बिहे गरेर सुखी जीवन बिताउन चाहन्थ्यो ।
कविता लेख्नका लागि केही कुराको आविष्कार गर्न सक्नुपर्छ
भन्ने उसलाई थाहा थियो । तर उसले केही पनि आविष्कार
गर्न सकेको थिएन । आफू साह्रै पछि जन्मेँ भन्ने उसलाई
लाग्थ्यो । आफू संसारमा आउनुभन्दा पहिले नै सबै कुराको
आविष्कार भइसकेको छ र मानिसहरूले सबै कुराको बारेमा
बोलिसकेका र लेखिसकेका छन् भन्ने ऊ ठान्थ्यो ।
उनी यस्तो सोच्थे : "हजार वर्षअघि जन्मेका मानिसहरू
सुखी थिए । किनकि उनीहरूलाई केही कुराको बारेमा कविता
लेखेर अमर हुन सजिलो थियो । सय वर्षअघि जन्मेका मानिस
पनि भग्यमानी नै हुनुपर्छ । किनकि त्यस बेला पनि कविता
लेख्नका लागि विषयवस्तुहरू बाकी हुनुपर्छ । तर, अहिले
संसारमा लेख्ने कुरै सकिइसकेको छ । अब कविता लेख्ने
विषय नै के छ र मसँग !"
त्यसपछि उसले अध्ययन गर्न थाल्यो । यति मेहनतले अध्ययन
गर्यो कि ऊ आखिरमा बिरामी भएर थला पर्यो । उसको अवस्था
साह्रै टिठलाग्दो भयो । कुनै डाक्टरले पनि उसलाई निको
पार्न सकेन । सायद एउटी पाकी महिलासँग उसलाई निको पार्ने
उपाय थियो । उनी बाटोको छेउमा एउटा सानो घरमा बस्थिन्
। उनी साह्रै बुद्धिमती थिइन् ।
कवि बन्न इच्छुक त्यो युवक ती महिलाकहाँ गयो ।
महिला बस्ने घर सानो र सफा भए पनि हेर्दा टिठलाग्दो
थियो । त्यो घरको नजिकै फूलका बोट र रुखबिरुवा केही
थिएनन् । घरको ढोकैमा मौरीको घार थियो, जो निक्कै काम
लाग्ने थियो । अर्को निक्कै उपयोगी कुरा त्यहाँ आलुबारी
थियो । त्यसको नजिकै माटोको ढिस्कोमाथि चुत्रोको झ्याङ
थियो । हिउँ पर्नुभन्दा पहिले त्यो चुत्रो निक्कै मिठो
हुन्थ्यो ।
"कविताविहीन हाम्रो समयको यो यथार्थ चित्र हो,"
त्यो तन्नेरीले यस्तो सोच्थ्यो । जे भए पनि एउटा विचार
त हो यो । उसले ती बुद्धिमती महिलाको दैलोमा पाएको विचारको
एउटा कण ।
"यो कुरा लेखिहाल !" ती महिलले भनिन् । "रोटीको
टुक्रा पनि त रोटी नै हो । तिमी मकहाँ किन आयौ भन्ने
मलाई थाहा छ । तिमीलाई केही कुरा आविष्कार गर्न आउँदैन
। तैपनि तिमी इस्टरभन्दा पहिले कवि बन्न खोज्दैछौ ।"
"सबै कुरा लेखिइसकेका छन् । कुनै कुरा लेख्न बाकी
नै छैन । हाम्रो समय पुरानो समयजस्तो हैन ।"
"त्यसो होइन," उनले भनिन् । "उहिले बुद्धि
भएका महिलाहरूलाई जलाइन्थ्यो । कविहरू भोकै मर्थे ।
उनीहरूको जीवन टिठलाग्दो हुन्थ्यो । अहिलेको बेला राम्रो
छ । यो सबैभन्दा राम्रो समय हो । तर यसलाई हेर्ने तिम्रो
तरिका ठिक छैन । तिम्रा कानहरू वर्तमान समयको स्वर सुन्नसक्ने
खालको चनाखो छैन । मलाई लाग्छ तिमीले साँझको बेलामा
ईश्वरको प्रार्थना पनि गर्दैनौ । भन्न, बोल्न र कविता
लेख्नका लागि जत्ति पनि विषय छन्, तर यसका लागि तरिका
जान्नुपर्छ । खेत, बारी र बगैँचामा फलेका अन्न र फलफूलहरूलाई
तिमीले पढ्न सक्नुपर्छ । खोलाको बगेको पानी र पोखरीको
शान्त जलबाट तिमीले कविता पाउनसक्छौ । तर कसरी पाउने
र लिने भन्ने जान्नुपर्छ । घामको किरणलाई कसरी समात्ने
भन्ने तिमीलाई थाहा हुनैपर्छ । तिमीले मेरो चस्मा लाएर
हेर्ने कोशिस गर, मेरो कान सुन्न सघाउने बिगुलेयन्त्र
आफ्नो कानमा लाऊ । अनि ईश्वरको महिमा गाऊ । आफ्नो बारेमा
चिन्ता गर्न छाड ।"
महिलाले उसलाई आफ्नो चस्मा र कान सुन्ने बिगुल दिइन्
। अनि उसलाई आलुबारीको माझमा उभ्याइन् । उनले एउटा ठूलो
आलु उसको हातमा राखिदिइन् । त्यसभित्रबाट आवाज आउन थाल्यो
। त्यसभित्रबाट शब्दहरूसहितको स्वर निस्कन थाल्यो ।
आलुले आफ्नो इतिहास सुनाउन थाल्यो । दिनदिनैको घटना
दश खण्डमा सुनायो । कविको लागि दश पंक्ति नै पर्याप्त
थियो ।
आलुले के गीत गायो होला ?
आलुले आफ्नै र आफ्नो परिवारको बारेमा गायो । युरोपमा
आलु कसरी आइपुग्यो, सुरुमा आलुको बारेमा कस्तो भ्रम
फैलियो, अनि कसरी अहिले आलु सुनको ढिक्काभन्दा मूल्यवान
भयो भन्ने कुरा सुनायो ।
"हामी राजाको हुकुमबाट, राज्यसभाको निर्णयले विभिन्न
नगरहरूमार्फत् वितरण गरिन्थ्यौँ । हाम्रो गुण र महत्वको
बारेमा सरकारी घोषणा गरिएको थियो । तर कसैले पनि त्यसलाई
पत्याएका थिएनन् । हामीलाई कसरी रोप्ने र कसरी फलाउने
भन्नेसम्म पनि मानिसहरूले जानेका थिएनन् । एक जना मानिसले
एउटा खाल्टो खनेर आफूसँग भएका डालोभरिको आलु त्यसैमा
खन्याएको थियो । अर्कोले एउटा आलु यहाँ अर्को आलु धेरै
पर राख्यो । उसले आलुको ठूलो रुख हुर्कन्छ र त्यसमा
आलु फल्छ अनि रुख हल्लाएर आलु झरालिन्छ भन्ने ठानेको
थियो । ती सबै आलु उम्रे, बढे, फुले अनि तिनमा रसिला
फल पनि फले । तर कसैले पनि जमिनमुनि के छ भन्ने सोचेनन्
। हो, हामीले धेरै दुःख झेल्यौँ । अर्थात् हाम्रो पुर्खाले
धेरै दुःख पाए । फलस्वरूप अहिले हामी सबैको हाईहाई हुन
पाएका छौँ ।
कस्तो कथा हो यो ! यसमा कविता लेख्ने कुरै के छ र !
"यतिले पनि पुगेन ?" ती महिलाले भनिन्, "त्यो
चुत्रोको झाङतिर हेर त ।"
ती चुत्राहरूले भन्नथाले, "आलूको घरसँग हाम्रो
अलिकति भए पनि नाता छ । तर ऊ हुर्केको ठाउँभन्दा केही
अग्लो उत्तरतिरको देश नर्वेबाट केही मानिसहरू कुइरो
र हुरीको वास्ता नगरी, पश्चिमतिर अनजान प्रदेशमा आए
। उनीहरूले बरफ र हिउँ पंछाए । यहाँ उनीहरूले विरुवा,
हरिया घाँसे चौर, बुट्यान र झाडीहरू भेट्टाए । उनीहरूले
काला-नीला अंगुरजस्ता चुत्राका झाङहरू फेलापारे । अंगुरहरू
हामीजस्तै तुसारोले पाकेका थिए । उनीहरूले अंगुरको रक्सी
पारे अनि यो भूमिलाई उनीहरूले वाइनल्याण्ड अर्थात् मधुभूमि
नामाकरण गरे । वास्तवमा यो चुत्रोभूमि हो ।
"यो त बडो अद्भूत रमाइलो कथा रहेछ ।" युवकले
भन्यो ।
"हो त नि यो पक्कै पनि रोचक कथा हो ।" भन्दै
ती महिलाले युवकलाई मौरीको घारतिर लगिन् ।
उसले मौरीको घारभित्र हेर्यो । कस्तो जीवन ! कस्तो मेहनत
! घारभित्र मौरीका चाकाका बीचबीचका गल्लीगल्लीमा मौरीहरू
थिए । पूरै चाका महको कारखाना जस्तो थियो । कारखानालाई
हावादार बनाएर दूषित हाबा बाहिर फाल्न मौरीहरूले निरन्तर
पखेटा चलाइरहेका थिए । उनीहरू यही काममा खटिएका थिए
। बाहिरबाट मौरीहरू आइरहेका थिए । उनीहरूको खुट्टामा
सानासाना डालाहरू थिए । ती डाला भरिभरि फूलका धुला,
केसरका कणहरू भरिएका थिए । उनीहरूले ती डालाहरू कारखानामा
खन्याउँथे । फूलका ती केसरबाट मह र मैन तयार हुँदै थियो
।
मौरीहरू भित्रबाहिर गरिरहेका थिए । रानी मौरी बाहिर
जान चाहन्थिन् । बाहिर गइन् भने उनीसँगै सबै मौरी बाहिर
जान्थे । तर यसो गर्ने बेला भएको थिएन किनकि चाकाबाट
मौरीका बच्चा र नयाँ रानी मौरी निस्कन बाकी नै थियो
। तैपनि रानी बाहिर जान खोजिरहेकी थिइन् । उनलाई बाहिर
जान नदिन अरु मौरीहरूले रानीको पखेटा काटिदिए । उनलाई
आफ्नै ठाउँमा बस्न कर लाग्यो ।
"अब माटोको ढिस्कोमाथि उक्ल," बुद्धिमती महिलाले
भनिन् । "यहाँ आएर राजमार्गतिर हेर । त्यहाँ मानिसहरू
देखिन्छन् ।"
"ओहो कस्तो भीड रहेछ !" युवकले भन्यो । "एउटा
कथा नसिद्धिँदै अर्को कथा । यो त बगेको बग्यै छ ! म
त अल्मल्लै परेँ । म त पछाडितिर जान्छु ।"
"हैन, सिधै अघि बढ !" महिलाले भनिन् । "सोझै
मानिसहरूको भीडमा पस । उनीहरूलाई ठिकसँग हेर । उनीहरूको
कुरा सुन्न कान चनाखो राख अनि उनीहरूको अनुभूतिहरू बुझ्न
आफ्नो दिमागलाई खुला राख । अनि तिमीले केही कुराको अविष्कार
गर्नेछौ । तर, जानुभन्दा पहिले तिमीले मलाई मेरो चस्मा
र काने बिगुल फर्काउनैैपर्छ ।"
यसो भन्दै उनले आफ्ना ती दुबै सामान फर्काएर लिइन् ।
"अब मैले सानातिना कुरा पनि देख्न सक्तिन । मैले
केही पनि सुन्न सक्तिन ।" युवकले भन्यो ।
"त्यसो भए तिमी इस्टरसम्ममा कवि बन्न सक्तैनौ ।"
बुद्धिमती महिलाले भनिन् ।
उसले सोध्यो, "म कहिलेसम्म कवि बन्न सकुँला त ?"
"न त इस्टरसम्म, न त सप्ताहान्तसम्म नै । तिमीले
कुनै पनि कुरा आविष्कार गर्न सिक्न सक्तैनौ ।"
"कविता लेखेर गुजारा गर्न मैले के गर्नु पर्छ ?"
"तिमीले पाप पखाल्ने स्रोभ दिवसको दिनसम्म पनि
यो काम गर्नसक्तैनौ । तिमीले कविहरूको सिकार गर्नथाल
! उनीहरूको लेखाइलाई बिगार, सत्यानाश पार । यसरी तिमीले
उनीहरूलाई मार्नसक्छौ । लाजसरम, नैतिकतालाई त्यागिदेऊ
। उनीहरूमाथि हिम्मतका साथ प्रहार गर । अनि तिमीले उत्सवको
भोज खान पाउने छौ । त्यही खाएर तीमी र तिम्री पत्नी
बाँच्नसक्छौ ।
"कसैले केही पनि केही आविष्कार गर्नसक्तैन ।"
युवक करायो । ऊ आफै कवि बन्न सकेन । यसैले उसले भेटाएजति
सबै कविलाई साहसका साथ प्रहार गर्यो ।
साँच्चै, कसले के आविष्कार गर्नसक्छ भन्ने कुरा ती बुद्धिमती
महिलालाई थाहा छ ।
माथि
मूल पृष्ठमा
जाउँ
|
|
|