हान्स
क्रि एन्डरसन
राजकुमारी
र केराउको गेडा
एक जना राजकुमार थिए । उनी राजकुमारीसँग बिहे गर्न
चाहन्थे । तर उनले बिहे गर्ने राजकुमारी साँच्चैको राजकुमारी
हुनु जरुरी थियो । सक्कली राजकुमारी खोज्न उनी संसारभरि
घुमे । तर खोजेजस्ती राजकुमारी भेट्टाउन सकेनन् । राजकुमारीहरू
त धेरै भेटिए । तर तिनीहरू सक्कली राजकुमारी हुन् कि
होइनन् भन्ने थाहा पाउनु गाह्रो थियो । सबैमा केही न
केही खोँट देखिन्थ्यो । सक्कली राजकुमारी नभेट्टिएको
हुँदा राजकुमार निराश भएर घर फर्के ।
एक दिन साँझ ठूलो हुरी चल्यो । आकाश गज्र्यो । चिर्को
पर्यो । घनघोर पानी पर्यो । त्यसै बेला अचानक कसैले
ढोका ढक्ढकायो । वृद्ध राजा आफैले ढोका खोले । ढोकामा
एउटी राजकुमारी उभिएकी थिइन् । तर झरीले न्रि्रुक्क
भिजाएर उनको रूपै बिग्रेको थियो । कपालबाट बगेको पानीले
लुगा भिजाएर कुर्कुच्चासम्म लुछुप्पै पारेको थियो ।
त्यस्तो अवस्थामा भएर पनि उनले आफूलाई सक्कली राजकुमारी
हुँ भन्दै थिइन् ।
"ठिकै छ, उनी साँच्चिकै राजकुमारी हुन् कि होइनन
भन्ने कुरा हामीले चाँडै नै पत्ता लगाइहाल्ने छौँ ।"
वृद्धा रानीले मनमनै भनिन्, तर मुखले केही भनिनन् ।
उनी सुत्ने कोठामा गइन् । पलङमा भएका सबै ओछयान झिकिन्
। त्यसपछि पलङमा एक गेडा केराउ राखेर त्यसमाथि बीस थान
डसना र डसनामाथि चराको भुवाले बनेका बीस वटा गद्दा खप्टयाएर
राखिन् ।
राती राजकुमारीलाई त्यो ओछयानमा सुत्न लगाइयो । भोलिपल्ट
उनीसँग राती राम्ररी निँद लाग्यो कि लागेन - आरामसँग
रात बित्यो कि कस्तो भयो भनेर सोधियो ।
"ओहो, रात काट्न कस्तो गाह्रो भयो ! रातभरि मैले
आँखा झपक्क गर्न पाएकी छैन । हे भगवान्, ओछयानमुनि कस्तो
साह्रो कुरा थियो कुन्नी ! त्यसले बिझाएर मेरा जीउभरि
नीला डाम परेका छन् । कस्तो गाह्रो भयो !"
बीस बीस वटा डसना र बीस थान गद्दाको मुनि भएको केराउको
गेडाले बिझाउने भएपछि उनी राजकुमारी नै हुन् भन्ने कुरामा
शङ्का रहेन । सक्कली राजकुमारी बाहेक अरूको जीउ यति
कमलो हुनै सक्तैन ।
राजकुमारले पनि सक्कली राजकुमारी भेट्टाएकोमा दङ्ग
परेर उनीसँग बिहे गरे । सक्कली राजकुमारी पत्ता लगाउन
सघाउने त्यो केराउको गेडा संग्रहालयमा राखियो । कसैले
नचोरेको भए त्यो केराउको गेडा अझै पनि त्यहाँ होला ।
यो साँच्चिकैको कथा हो ।
माथि
मूल पृष्ठमा जाउँ
|