|
विनय कुमार कसजुका कथा
खुवा र बिरालो
पाँच
पाथी अटाउने कराहीमा दूध भक्भक् उम्लिरहेको थियो । एउटा बिरालो
दूधको कराहीको छेऊमा बसेर हेरिरहेको थियो । दूध बाक्लो भएर
खुवाको मिठो बास आउन थालेको थियो । बिरालोले कराहीको बाक्लो
दूध खान धेरै पटक कोसिस गर्यो, तर तातो बाफले पोलेर बिरालो
म्याउँ गरेर पछि सर्थ्यो । कहिले दूध चिसो होला र खाउँला भनेर
पर्खने धर्ैय उसँग थिएन, किनकि धरका बूढाबूढी आइपुगे भने उसले
खुवाको सट्टा लट्ठी खानुपर्थ्यो ।
त्यो बिरालोको जिजुबुवालाई पनि त्यो घरमा उसको कुन
पुस्ता आएको हो र कहिलेदेखि त्यो घरमा खुवा बनाउन थालिएको
हो भन्ने थाहा थिएन । त्यो बिरालोलाई यतिमात्र थाहा
थियो कि गाउँभरिका घरहरूमध्यो त्यो घरमा जत्तिको दूधको
पौल अरु घरमा थिएन । गाउँमा चार्डपर्व तिथि सराद पर्दा
जसले पनि त्यही घरमा दूध लिन आउँथे ।
बूढाबूढीको गोठ पनि हेर्न लायकको थियो । लस्करै आठदस
वटा भैँसी बाँधिएका हुन्थे । पालैपालो व्याउने हुनाले
तीमध्ये चारपाँच वटा जहिले पनि दुहुना हुन्थे । गोठको
छेउमा पहाडजस्तो परालको कुनिउँ हुन्थ्यो । घरको छेउमै
बाह्रै महिना नसुक्ने सानो खोल्सी थियो । नजिकै बाक्लो
बन भएको हुनाले हरियो घाँस कहिल्यै टुट्दैनथ्यो । कुँडो
पकाउन दाउराको छेलोखेलो थियो ।
केही वर्ष भयो घरमा बूढाबूढी दुई जनामात्रै थिए । लाठे
छोराहरू गोठ्ल्याइँ गर्ने दुःखले कोही सहरमा त कोही
विदेशमा गएका थिए । उनीहरू बेलाबेलामा घर आउँदा पहाडको
जग्गाजमिन बेचेर सहरमा बसाइ सर्ने कुरा गर्थे । बूढाबूढीको
भने गाउँ छोड्ने मन थिएन । कान्छो छोराले त सहरमा नसर्ने
भए उसको भाग अंश चाहियो भन्न पनि थालिसकको थियो ।
छोराहरूले अन्तै पाखुरा खियाउन थालेपछि घरको आयस्ता
घट्ने नै भयो । तै पनि बूढाबूढीको मेहनतले दुईचार पाथी
दूध पाक्न छोडेको थिएन । दूध, ध्यु, खुवा, दही आदि बेचेर
उनीहरूको घरखर्च र लुगाफाटाको खर्च चलेकै थियो । बिरालोलाई
यी सबै कुराको चासो थिएन । बेलाबेलामा कराही, गबुवा
र ठेकीमा मुख गाडेर अनि मदानी चाटेर पनि उसको गुजारा
चलेकै थियो । चारपाँच बेत छाउरा छाउरी हुर्काउँदा पनि
अरुको घर ढुक्न जानु परेको थिएन ।
तर त्यो दिन अनौठै भयो । बूढाबूढी भान्छामा आउँदै आएनन्
। अगेनामा अजंगका मुढाहरू एकनासले बलिरहे । कराहीको
दूघ उम्लँदै सुक्दै गयो । बिरालोले खुवा खाने आश अझै
मारेको थिएन । छाउराछाउरीहरू भोकाए होलान् भनेर ऊ आत्तिँदै
थियो । अब अलिअलि दूध डढेको गन्ध आउन थाल्यो । भान्छाकोठामा
दूध डढेर धुवाँ रङमगिन थालेपछि बिरालो निकै आत्तियो
। ऊ म्याउँम्याउँ गर्दै छाउराहरू भएको धन्सारमा गयो
। धन्सारकोठाको ढोका फोरिएको थियो र त्यहाँ एक गेडा
पनि अन्न बाकी थिएन । छाउराहरू भोक र डरले एउटा कुनामा
लुकेर कराइरहेका थिए । त्यसपछि उसले बूढाबूढीलाई खोज्न
थाल्यो । कोठाचोटा चहारेपछि ऊ बुइँगलमा पुग्यो । त्यहाँको
दृश्य देखेर उसलाई रिंगाटा लाग्यो । त्यहाँ गरगहना रुपैयाँपैसा
राख्ने सन्दुक फोरिएको थियो । बूढाबूढीको लास रगतको
आहालमा डुबेको थियो ।
ऊ दगुर्दै फेरि भान्छाकोठामा पुग्यो । त्यहाँ उसले
खुवामात्रै होइन कराही नै डढेको देख्यो । आगोको रापले
गर्दा कोठाभित्र पस्न पनि गाह्रो थियो । ऊ दगुर्दै आफ्ना
छाउराहरू भएको ठाउँमा पुग्यो । उसले एकएक गर्दै छाउराछाउरीहरूलाई
मुखमा च्याँप्दै घरबाट गोठमा ओसार्न थाल्यो । झ्यालहरूबाट
धुवाँ र आगोको लप्का निस्कन थाल्यो ।
बिरालो कराउँदै छिमेकीहरूको घरमा पुग्यो । छिमेकीहरू
दगुर्दै आए । केही मानिसहरूले बूढाबूढीलाई अस्पतालतिर
लगे । कसैले माटो हाले कसैले पानी हाले । कसैले केराको
थाम ल्याएर ढाले । केही क्षणमा आगो निभ्यो । बूढाबूढीको
ज्यान बच्यो, घर जोगियो । आकाशमा चाहिँ अझै धुवाँ उडदै
थियो ।
२०५९ बैशाख १ गते
(कान्तिपुर प्रकाशनको कोपिला साप्ताहिकको २०५९ बैशाख
२० गतेको अंकमा प्रकाशित)
माथि
पहिलो पृष्ठमा जाउँ
|