|
विनय कुमार कसजुका कथा
कृतज्ञता
खोलाको
दुई किनारामा आँपका दुइटा बोट थिए । आँप फल्ने मौसममा दुबै
बोटमा लटरम्म आँप फल्थ्यो । बोटमा आँप हुँदासम्म विहानदेखि
साँझसम्म केटकेटी, तन्नेरी र बूढाबूढीहरू पनि बोटमुनि झुम्मिरहन्थे
। कोही झोला बोकेर रुख चढथे र पाकेको नपाकेको आँप छानीछानी
टिप्थे । तर धेरैजसो मानिसहरू बगरका ढुंगा र दाउराको झटारोले
हानेर आँप झार्थे । यसरी आँप झार्दा पाकेकोभन्दा पनि काँचा
रस नपसेका बिबिरा आँप धेरै खेर जान्थे ।
गुलियो फल दिने गुनिलो आँपको बोटलाई ढुंगा र झटारोले
हानेर हाँगा भाचिदिने काँचा आँप खेर फालिदिने मानिसहरूको
यस्तो व्यवहार देखेर दुबै बोटहरू दुखी हुन्थे । तर उनीहरू
लाचार थिए । एक साल पश्चिम किनाराको बोटले साह्रै दिक्क
भएर पूर्वी किनाराको बोटसँग गुनासो पोख्दै भन्यो, "यस्तो
मिठो फल फलाउने हामीलाई ढुंगा र झटारोले हानेर हामीमाथि
मानिसहरूले साह्रै अन्याय गर्न थाले । अब हामी कि त
फल्नै छाडौँ कि अमिलो फलमात्रै फलाऔँ ।"
उसको कुरा सुनेर पूर्वी बोटले भन्यो, "हेर भाइ,
आँप फलाउनु हाम्रो धर्म हो । मिठो गुलियो आँप फलाउने
हाम्रो गुणलाई किन व्यार्थमा खेर फल्ने ? जहाँसम्म ढुंगा
र झटारो हानेर दुःख दिने कुरा छ त्यो आआफ्नो स्वभाव
र गुण धर्म हो । मलाई त मानिसहरू मेरो छाहारीमा बसेर
आँप चुसीचुसी, हात चाटीचाटी खाएको देख्दा बडो आनन्द
लाग्छ । उनीहरूले आँप टिप्न हानेको झटारो मलाई आफ्नै
केटाकेटीले सानासाना पाइतलाले हानेर माया गरेजस्तो लाग्छ
।"
दुई बोटको सल्लाह मिलेन । आँपको मौसम आएपछि दुबै बोटमा
आँप फल्यो । पश्चिमको बोटमा पूर्वकोमा भन्दा थोरै फल्यो
। आँप पाक्न थालेपछि मानिसहरू पश्चिमको बोटको आँप अमिलो
भएको देखेर छक्कै परे । पूर्वीबोटको आँप भने पहिलेजस्तै
स्वादिलो थियो ।
मानिसहरू पूर्वी बोटमा झुम्मिएर ढुंगा र झटारो हानेको
देखेर पश्चिमी बोटलाई आफूले थोरै र अमिलो आँप फलाएकोमा
ठिकै गरेछुजस्तो लाग्यो । तर त्यो बोटमा कसैले किरा
लागेको, कसैले आँखा लागेको त कसैले बोक्सी लागेको अडकल
गरेर उपचारको लागि थोत्रा पुराना जुत्ता, फुटेका हाँडी,
थोत्रा लुगा त्यसका हाँगामा झुण्ड्याउन थाले । कसैले
बोटमुनि झारपात र घुर बटुलेर आगो बालेर खुर्सानी पोलेर
धुँवाए । आँपको बोट झन दुखी भयो ।
केही दिनपछि वर्षाको मौसम सुरु भयो । बाढी आएर खोला
निक्कै उर्लियो । दुबै बोटको फेँदमा खोलाले हानेर बोट
नै ढल्ने डर भयो । खोलामा पानी केही घटेपछि मानिसहरू
खोलाको किनारामा आँपको बोट वरिपरि भेला भए । उनीहरूले
तार जालीहरू ल्याए र पूर्वी आँपको बोटलाई जोगाउन बोटको
वरिपरि जाली राखेर त्यसभित्र ढुंगा भरेर बोटलाई बाढीले
बगाउन नसक्ने गरी बलियो वाँध बाँधे ।
अमिलो फल दिने पश्चिमतिरको बोटलाई कसैले पनि वास्ता
गरेन ।
२०५८ माघ १४ आइतबार
(कान्तिपुरको साप्ताहिक कोसेली कोपिला शुक्रवार फागुन
३ गते २०५८ को अंकमा प्रकाशित)
माथि
मूल पृष्ठमा जाउँ
|