|
विनय कुमार कसजुका कथा
मूर्ख खरायो
इन्द्रजात्राको दिन टुंडिखेलमा भएको दौडमा सबैलाई उछिनेर
चङ्खे खरायोले तक्मा पाएको थियो । उसले अब ओलम्पिक दौडमा
भाग लिन्छु भनेर साथीहरूलाई सुनाउँथ्यो । हुन पनि चङ्खेलाई
दौडमा जित्ने कोही पनि निस्कनसकेन । यसैले होला ऊ दिनदिनै
मात्तिन थाल्यो । उसले आफूलाई संसारको सबैभन्दा छिटो
दगुर्ने धावक बन्ने घोषण गर्यो ।
उसले अरू जानवरहरूलाई गन्न र टेर्न छाड्यो । आफूभन्दा
ठूला र आदर गर्नुपर्ने जीवहरूलाई उसले जिस्क्याउँथ्यो
र भाग्थ्यो । अरूभन्दा कछुवालाई उसले देखी सहन्नथ्यो,
किनकि धेरै पहिले कछुवाले उसलाई दौडमा जितेर उसको बेइजत
गरेको थियो । हुन त गल्ती चङ्खेकै थियो किनभने कछुवाले
उसलाई उछिन्न सक्तैन भनेर ढुक्क भएर ऊ बटोमै निदाएको
थियो ।
चङ्खे धेरै नै मात्तिन थालेपछि उसका साथीहरूले उसको
शेखी झार्ने बिचार गरे । उनीहरूले गोप्य रूपमा सल्लाह
गरे र खरायोलाई रानीपोखरीको कछुवासँग दौडाउने निधो गरे
।
साथीहरूको कुरा सुनेर चङ्खे हाँस्यो । उसले भन्यो,
"फेरि पनि त्यही कछुवासँग दौडने ? कस्तो दिक्क
लाग्छ । बरु स्याल वा चितुवासँग बाजी राख्न पाए हुन्थ्यो
। त्यही कछुवासँग कति पटक दगुरिरहने ? उहिले झैँ अहिले
पनि म बाटैमा सुतुँला र कछुवाले जित्ला भन्ने कल्पना
नगर । म त्यो काँठे खरायो होइन । यो प्रतियोगिता जितेपछि
मलाई एक बोरा गाजर चाहिन्छ । लौ कहाँबाट कहाँसम्म दगुर्ने
? कहिले दगुर्ने ? भन । म तयार छु ।"
एकाबिहानै सडकमा गाडीहरू कम गुडिरहेको बेला पारेर खरायो
र कछुवाको दौड प्रतियोगिता गर्ने निधो भयो । रानीपोखरीबाट
नागपोखरीसम्म दौडाउने सहमति भयो । चङ्खेका साथीहरू रानीपोखरीको
डिलमा भेला भए । रानीपोखरीमा बस्ने गम्भीरसिंह कछुवा
दौडिन तयार भयो । चङ्खे र गम्भीरेले हात मिलाए । दौड
सुरु भयो ।
खरायो उफ्रेर एकै छिनमा हरायो । कछुवा भने गम्भीर अनुहार
लाएर बिस्तारै अगाडि बढ्न थाल्यो । दगुर्नसक्ने केही
जानवर चङ्खेलाई भेट्टाउन उसको पछिपछि लागे भने धेरैजसो
जानवरहरू गम्भीरेको पछि लागे । केही पर पुगेपछि गम्भीरे
र अरू केही जन्तु एउटा पसलमा पुगे र त्यहाँबाट टेलिफोनमा
कुरा गर्न लागे ।
नागपोखरीमा गम्भीरेको भाइ अल्छेसिंह कछुवा बस्थ्यो
। गम्भीरेले उसैसँग फोनमा कुरा गर्यो । उसले चङ्खे खरायो
ऊसँग दगुर्ने बाजी लाएर नागपोखरी आउँदै गरेको कुरा भन्यो
। अनि चङ्खे त्यहाँ आइपुग्ने बित्तिकै कसरी स्वागत सत्कार
गर्ने भनेर अह्रायो ।
चङ्खे खरायो उफ्रँदै नागपोखरीमा पुग्दा थाकेर लखतरान
परेको थियो । तैपनि गम्भीरे कछुवाभन्दा चाँडै पुग्ने
कुरामा ऊ ढुक्क थियो । तर अफसोच ! उसले नागपोखरीको डिलमा
गम्भीरे खरायो आरामसाथ बसेर केरा खाइरहेको देख्यो ।
पहिले त उसले पत्याउनै सकेन । तर त्यो खरायोको व्यवहारले
गर्दा पत्याउन करै लाग्यो ।
नागपोखरीको डिलमा बसेर केरा खाँदै गरेको कछुवाले चङ्खेलाई
देख्ने बित्तिकै अगाडि सरेर ऊसँग हात मिलायो र भन्यो,
"ओहो ! कति ढिला गरेको चङ्खे ? म त अघि नै आएर
चार कोसा केरा खाइसकेँ । लौ तिम्रो लागि गाजर राखिदिएको
छु । खाऊ र थकाइ मेट ।"
उनीहरू कुरा गर्दागर्दै अरू जानवरहरू पनि नागपोखरीमा
आइपुगे । सबैको सामु चङ्खेले कछुवासँग दौडमा हारेको
स्वीकार गर्यो । त्यस दिन देखि चङ्खे खरायोले आफूलाई
सबैभन्दा छिटो दगुर्ने जीव भन्न छाडयो ।
(कान्तिपुर, कोपिलामा २०६२ भदौ २४ गते प्रकाशित ।)
माथि
शीर्षक
मूल पृष्ठमा जाउँ |