|
विनय कुमार कसजुका कथा
मुसालाई दोसल्ला
एउटा फुच्चे मुसा सिंहको पंजामा परेको थियो उसले सिंहलाई
परेको बेलामा मद्दत गर्छु भनेर आफ्नो ज्यान जोगाउन खोजेको
थियो । सानो मुसाले वनको राजा सिंहको के मदत गर्ला र
भनेर कसैले पनि पत्याएको थिएन । सिंहको मुखमा त्यो मुसा
एक गाँस पनि नहुने भएकोले उसले मुसालाई नमारीकन छडिदिएको
थियो । तर पछि कुनै दिन सिंह सिकारीको पासोमा पर्यो
। पासोमा परेको सिंह अब मर्ने भएँ भनेर ठूलो स्वरले
करायो । सिंहलाई संकटमा परेको थाहा पाएर त्यो मुसाले
सिंहलाई बेरेको पासोको डोरी काटेर उसको ज्यान जोगाइदियो
। यो कथा उहिलेको हो ।
त्यसपछिको कथा यस्तो छः
आफ्नो राजाको ज्यान जोगाइदिएको हुँदा बनका जानवरहरूले
मुसाको ठूलो गुन मानेका थिए । यही गुन तिर्न वनमा जनावरहरूले
मुसालाई सिन्दूर जात्रा गरेर दोसल्ला ओढाई सम्मान गर्ने
विचार गरे । यो कुरा जाहेर गर्न जनावरका अगुवाहरू सिंहको
गुफामा गए ।
उनीहरू गुफामा पुग्दा मन्त्री स्याल पनि सिंहसँगै थियो
। सिंहको निकै विश्वासिलो भएको हुनाले उसलाई सबैले जम्मूमन्त्री
भन्थे । सिंहको अनुहार हेरेरै उसले सिंहको मनको कुरा
बुझ्नसक्थ्यो ।
सिंहको ज्यान जोगाइ दिएको हुँदा इनामको रुपमा मुसालाई
दोसल्ला ओढाएर सम्मान गर्ने कुरा जानवरहरूले सिंहलाई
भने । सानो मुसाले आफ्नो ज्यान जोगाएको कुरालाई धेरै
प्रचार गर्ने सिंहको इच्छा थिएन । उनी यसलाई आफ्नो अपमान
ठान्थे । यसैले जनावरहरूको कुरा सुनेर सिंह मन नलागीनलागी
हाँस्यो ।
जम्मूमन्त्रीले सिंहको आशय बुझिहाल्यो । उसले ती जनावरहरूलाई
भन्यो, "हेर, सम्मान त राजाको पो गर्नुपर्छ, कहीँ
मुसाको पनि सम्मान हुन्छ ? सरकारबाट मुसालाई ज्यान सजाय
माफ भयो । यही नै उसको लागि ठूलो इनाम र सम्मान हो ।
बरु मुसामाथि सिंहराजको कृपा र उदारताप्रति प्रजाहरूले
कृतज्ञता जाहेर गर्न सरकारलाई पो दोसल्ला ओढाउनु पर्छ
।"
जम्मूमन्त्रीको कुरा सुनेर जनावरहरू अलमल्ल परे । केही
जानवरहरूको मन भाँडियो । उनीहरूले भने, "हो, सम्मान
त राजाको पो हुन्छ, कहीँ मुसाले दोसल्ला ओढेको पनि सुहाउँछ
!" त्यसपछि सिंहको सिंदूर जात्रा गरेर अभिनन्दन
गर्ने र दोसल्ला ओढाउने निर्णय गरेर उनीहरू घरतिर फर्के
।
२०५४ बैशाख
(मुसालाई दोसल्ला बालकथा संग्रहमा प्रकाशित)
माथि
शीर्षक
मूल पृष्ठमा जाउँ |